काठमाडौं महानगरकी उपप्रमुख डंगोल जेनेभा प्रस्थान


२०८२ भदौ १६ सोमबार १२:३३ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल जेनेभा प्रस्थान गरेकी छिन् । यही भदौ १७ गतेदेखि १९ (सेप्टेम्वर २–४) सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू छन् । यसमा शिक्षा, आर्ट, कल्चर एन्ड स्पोट्र्स, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरूका बीच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै यङ् ग्लोबल लिडरहरूका बीचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ ।

सम्मेलनमा भाग लिन जानु अघि डंगोलले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरू जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन् । सम्मेलनमा उनका २ वटा प्रस्तुतीकरण हुनेछन् ।

गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी थिइन् । युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रुपमा उनलाई चयन गरेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७