पुस्तकमा नेपाल-चीन सुमधुर सम्बन्धका ७० वर्ष


२०८२ भदौ १२ बिहीबार १२:२० बजे
चिन भम्रमणको क्रममा तात्कालिन प्रधानमन्त्री विपी कोइराला

काठमाडौं : नेपाल र जनवादी गणतन्त्र चीनको सम्बन्धलाई चिनाउने पुस्तक प्रकाशित भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा ’सुमधुर सम्बन्धका ७० साल’ नामक ग्रन्थ सार्वजनिक भएको हो । 

नेपाल र जनवादी गणतन्त्र चीनको कूटनीतिक सम्बन्ध स्थापनाको सन् २०२५ मा ठीक ७० वर्ष पुग्छ । सन् १९५५ अगस्ट १ मा दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । यही अवसरमा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा नेपाल–चाइना मिडिया फोरमले ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक प्रकाशन गरेको हो । 

दुई असल छिमेकी मुलुकका ऐतिहासिक सम्बन्ध तथा प्रेरणादायी सहकार्यको दस्तावेजीकरण गर्ने प्रयास स्वरूप फोरमले पुस्तक प्रकाशन गरेको फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । 

राजा महेन्द्रदेखि टंकप्रसाद आचार्य (चीन भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री) सम्मको चीन भ्रमणबारे पुस्तकमा चर्चा छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भ पनि उल्लेख गरिएको छ ।

नेपाल र चीनबीच सबैभन्दा पहिले बौद्ध धर्ममार्फत् सम्बन्धको सुरुवात भएको इतिहास छ । चीनमा बौद्ध धर्म फैलिनुमा नेपालको गहिरो भूमिका छ।

त्यसपछि १३ औँ शताब्दीमा अरनिको चीनमा गई त्यहाँका सम्राटको निमन्त्रणमा महत्वपूर्ण स्तूपहरू तथा मूर्तिकला निर्माण गरेको हामी अहिले पनि प्रमाण पाउँछौँ । अरनिको चीनमा बौद्ध वास्तुकलाका एक महान् कलाकारका रूपमा स्थापित भए ।

पुस्तकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गरेका छन् । पुस्तकमार्फत विगत सात दशकको नेपाल–चीनबीचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको चर्चा गरेका छन् ।

राजा महेन्द्रले एकपटक मात्रै चीनको भ्रमण गरेका थिए । सन १९६१ मा चीन पुग्दा चिनियाँ राष्ट्रपति ल्यू स्याओचीसँगको हस्तमिलनको तस्बिर  ।

प्राचीन कालका राजकुमारी भृकुटी र कलाकार अरनिकोले सुरु गरेको मित्रताको यात्राले आजको आधुनिक युगमा नयाँ उचाइ हासिल गरेको उनले स्मरण गरेका छन् । औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएपछि नेपाल र चीनबिच आपसी विश्वास, सहयोग र समझदारीको आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा विकास साझेदारी विस्तार हुँदै आएको घिमिरेले स्मरण गरेका छन् ।

नेपालका लागि चीनका राजदूत चेन सोङले ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक प्रकाशन हुन लागेकामा शुभकामना सन्देश दिएका छन् । यस पुस्तकले दुई देशको कूटनीतिक सम्बन्धमा प्रमुख कोसेढुङ्गाको साक्षी मात्र नभई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान, धार्मिक, शैक्षिक अन्तरक्रिया लगायतलाई जीवन्त रूपमा समेटेको उनले उल्लेख गरेका छन् ।

पुस्तक प्रकाशन गर्नुको औचित्यबारे प्रस्ट पार्दै फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल–चीन बिचको दौत्य सम्बन्धका मिठा क्षणहरूलाई समेट्ने प्रयास गरिएको लेखेका छन् । 

‘जब–जब भूगोलको प्रसङ्ग आउँछ, त्यहाँ छिमेकी साइनोको कुरा जोडिन्छ र स्वतः खोजिन्छ–सहयोग, समन्वय, सद्भाव, सदाचार र सदाशयता । भनिन्छ नि साथी फेर्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न । यस पुस्तकमार्फत हामी नेपाल–चीन सम्बन्धका विविध आयाम अनि ७० वर्षका मीठा क्षणलाई स्मरण गर्न गइरहेका छौँ’, पुस्तकबारे श्रेष्ठले भनेका छन् ।  

नेपाली र चिनिया दुवै भाषामा प्रकाशित यस पुस्तकमा दुई देशबिच बहुआयमिक मितेरी सम्बन्धबारे चर्चा गरिएको छ । इतिहासमा भृकुटी, अंशु वर्मा, अरनिको, बुद्धभद्र, हु एनसाङले एक–अर्काको देशलाई आफ्ना जनतामाझ चिनाउन गरेका कठिनतम प्रयत्नले औपचारिक सम्बन्ध स्थापनामा अतुलनीय योगदानको कदर गर्दै नेपाल–चीनबिच विगतदेखि वर्तमानसम्म बहुआयमिक सम्बन्धलाई पुस्तकमार्फत लिपिबद्ध पारिएको छ ।

उक्त पुस्तकमा चीन-नेपाल पौराणिकदेखि वर्तमान अवस्थाको सम्बन्धबारे ब्याख्या गरिएको छ । पुस्तकमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको कथा, त्यसअघिको अनौपचारिक सम्बन्ध, व्यापारिक सम्बन्धको सुरूवात, आर्थिक सहयोगको थालनी, नेपाल-चीन व्यापारको पाटो, चीन-नेपाल सम्बन्धमा भूराजनीतिक असरसहितका विषयमा वर्णन गरिएको छ ।

त्यसैगरि नेपाल-चीन उच्च तहको भ्रमण, शीत युद्धकालीन सहयात्रा, राजाको शासनका बेलाको सम्बन्ध, आर्थिक साझेदारी, चीनले नेपालमा बनाएका परियोजना र उद्योग, चीनको सहयोगमा बनेका प्रमुख उद्योगको अवस्था, नेपालमा भारत, अमेरिका र युरोपेली मुलुकहरूको उपस्थिति, भाषा र सांस्कृतिक आदानप्रदान, सैन्य सहयोग तथा सी चिनफिङको शासनयताको विस्तृत विवरण पनि पुस्तकमा पढ्न पाइन्छ ।

चीन भ्रमणमा पुगेका प्रथम नेपाली कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग हस्तमिलन गर्दै चिनियाँ राष्ट्रपति जियाङ जमिन । 

पुस्तकमा बेल्ट एन्ड रोड परियोजना (बीआरआई), कोभिड र भूकम्पका बेला चीनले दिएको साथ, बलियो सम्बन्ध, बलिएको भाषा, सांस्कृतिक सम्बन्ध, केपी ओलीका पालाको सम्बन्ध र दुई देशको आधुनिक आर्थिक सम्बन्धबारे विस्तृत वर्णन गरिएको छ ।

नेकपा (एमाले)का तात्कालिन महासचिव मदन भण्डारी सहित एमाले नेताहरु चिन भ्रमणको क्रममा ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७