ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउने सरकारी वकिल कार्यालयको निर्णय

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरी समक्ष उपस्थित भएका एमाले नेता ऐन महरलाई उपस्थित भएकै दिन बयान लिएर हाजिर जामानीमा छाडिएको छ ।
पक्राउ पूर्जी जारी भएपछि महर बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर भएका थिए । अदालत पेश गर्न प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौं पेश गरेपछि उनलाई बयान लिएर हाजिर जमानीमा छाडिएको हो ।
सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता रामहरि शर्माले महरसँग बयान लिने काम सकिएकाले हाजिर जमानीमा छाडिएको जानकारी दिए । उनले भने, ‘हामीकहाँ बयान लिने काम सकिएपछि छाडेका छौं । अब बाँकी अनुसन्धान गर्ने निकाय (नेपाल प्रहरीको साइबर ब्युरो) ले अनुसन्धान सकेपछि अभियोजन हुन्छ ।’
महरमाथि बझाङकी एक महिलाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको आरोप लगाउँदै हुलाकमार्फत पठाएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।
महरविरुद्ध धामीले आफूमाथि अपशब्द र विभिन्न लाञ्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोस्ट गर्ने गरेको आरोप लगाएकी छन् ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख छ । यो कसुर गरेको पुष्टि भएमा अभियुक्तविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।