लोडसेडिङ राजनीतिक आँटले मात्र अन्त्य भएको हो : प्रचण्ड


२०८२ भदौ ११ बुधबार १७:४७ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा कहालीलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले मात्र अन्त्य नगरेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको नाम नलिइकन लोडसेडिङको अन्त्य राजनीतिक नेतृत्वको आँटका कारण भएको दावी गरेका हुन् ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालको ऊर्जा राज्य शिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उनले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए । ‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’ उनले भने । कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे ।

ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताएका छन् । ‘यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,’ उनले भने । अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’ मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे ।

‘जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,’ उनले स्पष्ट गरे । देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्‍याउने मुख्य कारण पुराना झन्झटिला कानुन र नियम अझै  परम्परावादी हुनु र नोकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जन पक्षीय सेटिङ बनाउनै पर्छ,’ उनले जोड दिए । अध्यक्ष प्रचण्डले स्व. पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे ।  ‘बोगटीजस्तो इमानदार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनै पर्छ,’ उनले भने ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मूल्याङ्कन गर्ने दृष्टिमा कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए ।

‘यदि राजनीतिक नेतृत्वको भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,’ उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले भारत र बङ्गलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए । ‘लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो,’ उनले भने ।

हालको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत अतिक्रमण र विधेयक पारित गर्न ढिलाइले ऊर्जा क्षेत्रमा प्रगति अवरुद्ध भएको भन्दै उनले सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।  ‘विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरेर लगानी र विकासको बाटो खोल्नुपर्छ,’ उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व माओवादीकै नेतृत्वको उपलब्धि भएको बताए । ‘माओवादी हुँदा लोडसेडिङ अन्त्य भयो, राष्ट्रिय गौरवका आयोजना अगाडि बढे, शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता भए,’ उनले स्मरण गराए ।

उनले कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका कारण आलोचना गर्दै भने, ‘यो सरकार डरबाट बनेको हो, यसबाट सुशासन र समृद्धिको आशा गर्न सकिँदैन ।’ अध्यक्ष प्रचण्डले हालसालैको विभिन्न चुनावी परिणाममा जनताले माओवादीलाई विश्वास गर्दै गएको दाबी गरे । ‘जनताले बुझ्न थालेका छन्, देश बनाउन सक्ने शक्ति माओवादी नै हो,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७