विराटनगरमा विद्यादेवी भण्डारीलाई भव्य स्वागत


२०८२ भदौ २ सोमबार १६:१७ बजे

मोरङ । पूर्व राष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । एमाले नेता तथा कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, एमाले नेता विनोद ढकाल, कोशी प्रदेशकी राज्यमन्त्री रहेकी सिर्जना राईसहित प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरु स्वागतका लागि विमानस्थल पुगेका थिए । सयौं एमाले नेता तथा कार्यकर्ताले विमानस्थल बाहिर लाइन लागेर उनलाई स्वागत गरेका थिए ।

पूर्व राष्ट्रपति भण्डारी विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यहाँ गएकी हुन् । साढे १२ बजे सौर्य एयरबाट विराटनगर ओर्लिंदा उनको भव्य स्वागत भएको हो ।

‘म एमाले कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन’
पूर्व राष्ट्रपति भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता रहेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने स्पष्ट पारेकी छन् ।

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो । म नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो ।’

राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उनले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गरिन् । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भन्दै उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो । यो आवधिक हुन्छ । जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सक्छन् ।’

गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ । सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन् ।

‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि । कमिटीमा बस्नेहरूलाई थाहा होला ।’ उनले आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पारिन् ।

भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । उनले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्ने समेत बताएकी थिइन् । त्यसलगत्तै बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले उनको नविकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो ।

उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आएकी छन् । भण्डारीले आफ्नो सदस्यता पार्टीको बिधान र प्रक्रिया अनुसार नविकरण भइसकेकको जिकिर गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनको भनाइ छ ।

आफू आलोचनाभन्दा मुक्त नरहेको भन्दै उनले गुट चलाएको आरोपको प्रतिवाद गरेकी छन् । ‘मलाई गुट चलाउन आउँदै आउँदैन’ उनले भनिन्, ‘मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्नु होला ।’

कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई लिएर सोधिएको प्रश्नमा भण्डारीले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताइन् । ‘शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ पनि मोरङ विराटनगरकै हो । हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो’ उनले भनिन्, ‘त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ ।’

वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने बताएकी छन् । तर, त्यसलाई बलियो रूपमा नदेखेको उनको भनाइ छ । ‘सम्भावनै छैन भनेर मैले भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ’ उनले भनिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७