मैले सदस्यता नवीकरण गरेको छु, यो अधिकार कसैले खोस्न सक्दैन : भण्डारी


२०८२ भदौ २ सोमबार १४:५२ बजे

मोरङ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको बताएकी छन् । उनले आफूलाई एमालेसँगको पुरानो संगठनात्मक नाता कसैले खोस्न नसक्ने दाबी गरेकी छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ । आज पनि म त्यही हुँ । पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो ।’

उनले एमालेको केन्द्रीय समितिले सदस्यता खोसेको भन्ने हल्ला असत्य भएको दाबी गरिन् । ‘३५-३६ वर्षदेखि मैले पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ’, उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेको छु । यो अधिकार कसैले खोस्न सक्दैन ।’

पार्टीले उनलाई केवल ‘पूर्व राष्ट्रपति’ का रूपमा मात्र लिने भन्ने अभिव्यक्तिप्रति भण्डारीले प्रत्यक्ष टिप्पणी नगरे पनि आफू कुनै पनि छलफलका लागि खुला रहेको बताइन् । उनले भनिन्, ‘जनताले निर्वाचित गरेका कोही पनि व्यक्ति त्यो पदमा जान सक्छन् र कार्यकालपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्छन् ।’

यसैबीच नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटका विषयमा भइरहेको सार्वजनिक टिप्पणीप्रति कुनै गुनासो नरहेको उनले बताइन् । भण्डारीले भनिन्, ‘हामी पुराना साथी हौँ, भेटघाट हुनु स्वाभाविक हो । देशका शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीका विषयमा नेताहरुबीच छलफल हुनु सकारात्मक कुरा हो ।’ वाम एकता सम्भावनाबारे सोध्दा उनले अहिले तत्कालै त्यस्तो बलियो आधार नदेखे पनि भविष्यमा असम्भव पनि नभएको बताइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७