मितेरी सहकारी ठगी : कांग्रेस उपसभापति गुरुङलाई उन्मुक्ति दिंदै ११ प्रतिवादी

१७ करोड ठगीको मुद्दामा थपियो हुन्डीको ६ अर्ब


२०८२ श्रावण २८ बुधबार २१:४९ बजे

काठमाडौं । ललितपुरस्थित महालक्ष्मीथानस्थित मितेरी सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धान सकेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मितेरी सहकारी ठगीमा ११ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको हो । 

यीमध्ये बर्दियाका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवास खत्री मात्रै पक्राउ परेका छन् । ज्योति गुरुङसहित आठ जना फरार रहेको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए । 

ज्योति कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। सहकारी ठगीमा धनराज गुरुङको पनि संलग्नता रहेको आरोप लागे पनि सीआईबीको अनुसन्धानमा उनको संलग्नता पुष्टि हुन नसकेको दाबी गरिएको छ । धनराजलाई भने यो मुद्दामा प्रतिवादी बनाइएको छैन । सीआईबीको अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् ।

अहिलेसम्म पक्राउ परेका तीन प्रतिवादीले पनि धनराजको संलग्नता रहेको बयानका क्रममा नबताएको र अन्य प्रमाणले पनि नदेखिएको सीआईबीले जनाएको छ । 

मितेरी सहकारी ठगीको कसुरमा पक्राउ परेका तीन जना र फरार ८ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय छ । सहकारीको १४ करोड रुपैयाँ अपचलन भएको सीआईबीको निष्कर्ष छ । 

यस्तै अपचलन भएको रकम फिर्ता गराइदिन्छु भन्दै थप तीन करोड रुपैयाँ ठगी गरेको पनि सीआईबीको प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीको अनुसन्धानका क्रममा ६ अर्ब बढी हुन्डीको कारोबार गरेको फेला परेको छ । सीआईबीले हुन्डीको कारोबार गरेको आरोपमा ६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । 

जसमा पक्राउ परेका तीन जना र फरार ज्योति गुरुङसहित छन् । सुवास खत्री भने क्रिप्टोमा पनि जोडिएका छन् । अनुसन्धानको क्रममा उनको २ हजार १४९ डलर क्रिप्टोमा लगानी गरेको फेला परेको छ । उनलाई भने क्रिप्टोको कसुरमा पनि प्रतिवादी बनाउन सीआईबीको राय छ । 

ज्योति गुरुङसहित ११ जनालाई सहकारीको १७ करोड सामुहिक बिगो कायम गरिएको छ । यीमध्ये ६ जनालाई ६ अर्ब हुन्डीको बिगो थप गरिएको छ । हुन्डी गरेर विभिन्न देशमा रकम लगेको फेला परेको छ ।

सहकारीको रकम पनि यसैगरी कम्बोडिया लगायत देशमा पुर्‍याएको अभियोग उनीहरूलाई छ । ज्योतिबहादुर भण्डारीलाई पनि कम्बोडियामै पक्राउ गरेर ल्याइएको थियो । पछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको सीआईबीले मुख्य आरोपी ज्योति गुरुङसहितलाई भने पक्राउ गर्न सकेन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७