कैलालीका सीडीओ हमाल मन्त्रालय तानिए

काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालय तानिएको हो ।
कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ । दाङमा भने तत्काल कुनै निर्णय भइसकेको छैन । गत साता कैलाली कारागारमा झडप हुँदा एक कैदीको मृत्यु भएको थियो ।
झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए । त्यसअघि नै कैदीबन्दीबीच विवाद देखिएको र समयमै सुरक्षा सतर्कता नअपनाउँदा उक्त घटना हुन पुगेको भन्दै हमाललाई सीडीओको जिम्मेवारीबाट अलग गरिएको हो । कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो ।
मानवअधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो । उक्त घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले जाहेरी पनि दिएको छ ।