खोटाङ दुर्घटना : एक तीर्थयात्री मृत्यु, ६ जनाको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा आज (सोमबार) बिहान भएको सवारी दुर्घटनामा एक तीर्थयात्रीको मृत्यु भएको छ । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १४ जना घाइते भएका छन् ।
प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोला नजिकै सोमबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनाका ज्यान गुमाउने मृतक र घाइते सबैको पहिचान खुल्न बाँकी छ । दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले जानकारी दिएका छन् ।
घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो संख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले जानकारी दिए । दुर्घटनाको कारण खुल्न खुलिसकेको छैन । विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेका हुन् ।