जनार्दनजीले आत्मालोचना गर्नु भएको छैन : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको बताएका छन् । ‘आत्मालोचना त गर्नु भएको छैन । तर रियलाइजेसनको मात्रा बढेको छ,’ सापकोटाले भने ।
छलफल गर्दै जाँदा यो विषय टुंगिने उनले जानकारी दिएका छन् । गुट उपगुट र स्वार्थ समूह अन्त्य गर्ने निर्णय बैठकले नै गरेको भन्दै यसमा अल्झन नपर्ने उनले बताए । ‘छलफल गर्दै जाँदा यो टुंगिन्छ भन्ने विश्वासमा छु,’ सापकोटाले भने ।
बैठकमा अधिकांश सदस्यहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए । जवाफका क्रममा शर्माले पार्टी बिग्रेको जिम्मा लिन अध्यक्ष प्रचण्ड तयार भए मात्रै आफू पनि आत्मालोचना गर्न तयार भएको बताएका थिए ।
सापकोटाले भने, ‘उहाँले माइन्यूटमा सही गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बैठकमा स्थायी कमिटी सदस्यले उठाएको कुरामा महसुस गर्नु भएको छ। साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना त गर्नुभएको छैन । तर, त्यस विषयमा उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ । अरू समग्र विषयमा समितिमा छलफल गरेर जाने कुरा भएको छ ।’
शर्माले मनमोहन अधिकारी बाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भएको अभिव्यक्ति दिएका दिए । ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन ।’