ललितपुरमा श्रीमतीको हत्या

काठमाडौँ । ललितपुरको ठैवमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । गोदावरी नगरपालिका–१४ स्थित ठैवमा निरोजकुमार खड्गीले ४६ वर्षीया श्रीमती सुस्मिता खड्गीको हत्या गरेका हुन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भएका ४६ वर्षीय निरोजकुमार खड्गी पत्नीसँग ठैवमा टहरो बनाएर बस्दै आएका थिए । आइतबार बिहान ६ बजेतिर घटनाबारे सूचना आएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न आरोपमा निरोजकुमार खड्गीलाई पक्राउ गरेको छ ।
सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको एसएसपी अधिकारीले जानकारी दिए । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ । निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आपसी विवाद हुँदा उनले हत्या गरेको थाहा भएको छ । घटनास्थल प्रहरी प्रभाग बाँडेगाउँबाट २ किलोमिटर उत्तरतर्फ पर्छ ।