डीआईजीलाई गुमराहमा राख्दै घुमुवा परिचालन
2025-08-03-10-42-03.jpg)
तनहुँ : प्रहरीको आडमा तनहुँमा मापदण्डबिपरीत नदी दोहन हुँदैआएको छ । क्रसर संचालकहरुले नदी दोहनमात्र होइन,नदी र खानीबाट बालुवा र ढुंगा दोहन गरी तिर्नुपर्ने कर समेत छली गर्दैआएकाे उजुरी परेकाे छ ।
क्रसर संचालक बलबहादुर शाहीले जिल्ला प्रशासन कार्यालय तनहुँका एसपी वीरेन्द्र शाहीसँगको निकटता देखाएर स्थानीय तहलाई तिर्नुपर्ने करसमेत छली गर्ने गरेको भन्दै प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा उजुरी परेको छ ।
केही दिनअघि ब्यास नगरपालिका वडा नम्बर १३ बेलबासमा स्थानीयले भ्याटबिल बिनाका बालुवा, ढुंगा लोड भएका बलबहादुर शाही र पुष्प खनालका टिपर रोकेर प्रहरीलाई बोलाएका थिए । स्थानीयले घेराउ गरी रोकेका शाही र खनालका ट्याक्टर र टिपरको भ्याटबिल नभए पनि प्रहरीले भएको भन्दै छाडिदिएको एक प्रहरी अधिकारीले बताए ।
तर बलबहादुर शाहीको इशारामा भ्याटबिल काटेका ब्यवसायीका ट्याक्टर र टिपरसमेत घुमुवा असई सन्त रिमालले बरामद गरी दुःख दिएको भन्दै स्थानीयले उजुरी गरेका हुन् ।
मादी नदीको बालुवा, गिटी मापदण्डबिपरीत उत्खनन गर्दैआएका बलबहादुर शाहीले रोयल्टीसमेत नतिरी टिपरका टिपर बिक्री गर्ने गरेको आरोप छ । ठेकेदार बलबहादुर शाहीले मादी नदीमा मापदण्डबिपरीत स्काभेटर प्रयोग गरी निकालिएको गिटी–बालुवा र ढुंगा दैनिक दसौं टिपरमा ओसार्ने गरेका छन् ।
मादी नदीबाट १६ लाख घनमिटर मात्र नदीजन्य पदार्थ निकाल्न पाउने भए पनि प्रहरीको सेटिङमा त्योभन्दा धेरै बढी उत्खनन गरी भावी दिनमा प्राकृतिक विपत्ति निम्त्याउने कार्य भइरहेको छ ।
ड्राइभिङ सेन्टर जहाँ पहिरो जान्छ भनेर सञ्चालनमा अवरोध गरिएको छ
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्र शाहीले खटाएका विवादित असई सन्त रिमालले नदी दोहन गर्ने बलबहादुर शाहीदेखि जुवा खेल्ने खेलाउनेहरुसँग दररेट असुली गर्दैआएका छन् ।
असई रिमाल जिल्लाभर एसपीको घुमुवाको रुपमा परिचालित छन् । विगतमा रिमाललाई घुमुवा राखी असुली गरिएको बिषयमा गण्डकी प्रदेश प्रहरीमा उजुरी परेपछि उनलाई इलाका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।
तर केही महिनादेखि तिनै देवघाट दरबन्दी भएका असई रिमालले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बेलचौतारा, भीमाद लगायतका थानाचौकीबाट दररेट उठाउने गरेको आरोप एसपीमाथि छ ।
जिल्लाबाट हुने गोरु तस्करीदेखि जुवातास खेल्ने खेलाउनेहरुसँग असई रिमालले एसपीको नाममा सेटिङ गर्ने गरेको स्रोत बताउँछ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा धेरै गुनासापछि असई रिमाललाई एसपी शाहीले सरुवा गरेको भए पनि केही महिनादेखि दरबन्दी देवघाटमा देखाएर उनलाई जिल्लामा घुमुवाका रुपमा परिचालन गरेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजीले रिमालसहितका घुमुवाका बारेमा गुनासा पुगेपछि सोधीखोजी गर्दा देवघाटमा सरुवा गरिसकेको भनेर एसपी शाहीले गुमराहमा राख्दै आएका छन् ।
यसैगरी, गाडी चलाउनका लागि प्रशिक्षण दिनका लागि ड्राइभिङ सेन्टर संचालन गर्नसमेत बलबहादुर शाहीकै उक्साहटमा एसपी शाहीले नदिएको आरोप छ ।
बन्दीपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा रविन अधिकारीले सबै प्रक्रिया पूरा गरी निर्माण गर्न लागेको ड्राइभिङ सेन्टर बलबहादुर शाहीले प्रहरीमा बेनामी उजुरी हालेर रोक्न लगाएको आरोप छ ।
बैदेशिक रोजगारीबाट फर्किएका अधिकारीले देशमै केही गर्ने हुटहुटीका साथ रिमाल्नीमा ड्राइभिङ सेन्टर संचालन गर्न खोज्दा पनि बलबहादुर शाहीको बेनामी उजुरीकै भरमा हचुवाका आधारमा निर्माण गर्न नै रोकिएको छ ।
आनाको २ लाख भन्दा बढी मूल्य पर्ने ५ रोपनी जग्गा यातायात कार्यालयलाई दान दिएका रविन अधिकारीले बाँकी २० रोपनी जग्गामा ड्राइभिङ सेन्टर संचालन गर्नका लागि निर्माण गर्न खोज्दा रोकिएको छ ।
ड्राइभिङ सेन्टर निर्माणका लागि माटो सम्याउन स्काभेटर लान नदिएपछि निर्माण अवरुद्ध भएको छ । स्काभेटर लैजानासाथ बलबहादुरकै इशारामा प्रहरी खटाएर रोक्ने गरिएको छ । बर्षायाममा स्काभेटर प्रयोग गर्दा पहिरो जान सक्छ भनेर ड्राइभिङ सेन्टर निर्माण रोकिएको छ ।
उक्त ठाउँमा पहिरो जाने अवस्था नै नभए पनि बलबहादुरको प्रभावमा परी प्रहरीले रोकेको आरोप छ । यातायात ब्यवस्था कार्यालयले सवारीचालक अनुमतिपत्र(लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) बिमलनगरमा रहेको बलबहादुर शाहीको
ड्राइभिङ सेन्टरबाट गर्दैआएको छ । यही २०८२ भदौमा यातायात कार्यालय तनहुँले ट्रायल सेन्टरको लागि टेण्डर गर्दैछ । तनहुँमा बलबहादुरको एकमात्र ड्राइभिङ सेन्टर रहेकाले उनैको ट्रायल सेन्टरले ट्रायल परीक्षा संचालन गर्न मौका पाएको छ ।
यदि अर्को ड्राइभिङ सेन्टर संचालन हुँदा बलबहादुर शाहीको एकाधिकार नहुने र टेण्डरमा प्रतिस्पर्धा हुँदा रविन अधिकारीको संस्थाले पाउन सक्ने भएपछि प्रहरीलाई प्रयोग गरी रिमाल्नीमा निर्माण नै रोक्न खोजेको आरोप छ ।
टेण्डर भएर नटुंगिएसम्म रिमाल्नीमा रबिन अधिकारीको ट्रायल सेन्टर अनेक तिकडम गरी निर्माण नै हुन नदिने खेलमा बलबहादुर शाही लागेको र त्यसमा प्रहरी समेत दुरुपयोग भएको आरोप छ ।