लामाले आज राजीनामा दिंदै, बानियाँ बन्दै बागमतीको मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) पदबाट राजीनामा दिने भएका छन्।
१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आज हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।
शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटपछि लामा राजीनामा दिन तयार भएको जानकारी दिए ।
मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारले जानकारी दिएका छन् ।
लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक समेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै शपथको तयारी गरे पनि सत्ता साझेदार नेकपा एमालेको असहमतिमा शपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि शपथ हुन सकेको थिएन ।
उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंडा नफर्किए पनि कार्यालयमा राजीनामा पत्र दर्ता गरिने जानकारी दिए । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ बन्ने छन् ।
सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्व सहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।