खुल्यो अवरुद्ध मध्यपहाडी लोकमार्ग

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्डमा अवरुद्ध सडक खुलेको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग बिहानदेखि अवरुद्ध थियो ।
सडक केहीबेर अघि खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको र फसेको ६ चक्के ट्रक निकालिएको प्रहरीको भनाइ छ ।
शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका– ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो । ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठमाडौँ आउँदै गरेको ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसहितका जिल्लाबाट काठमाडौँ र तराईतर्फ हिँडेका सानाठूला दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका थिए । सिन्धुलीमा गए राति पानी परेको थियो ।