माओवादी स्थायी कमिटी बैठकमा १० मिनेट बोल्न समय

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि कमिटीका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेण्डामाथि स्थायी कमिटी सदस्यहरूले शुक्रबार धारणा राख्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
सदस्यहरूलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको पनि उनले बताए । जारी स्थायी कमिटी बैठकमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयमा छलफल हुने एजेण्डा तय भएका छन्।त्यस्तै यही बैठकले पार्टीको आगामी केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ ।
शुक्रबार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठक दशैंपछि गर्न प्रस्ताव राखेका थिए । ती प्रस्तावबारे पनि शनिबार स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । माओवादी स्थायी कमिटीको आकार ४४ सदस्यीय छ ।