लहानमा ट्याङ्कीबाट खानेपानी वितरण

सिरहा । सिरहाको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण शुरू गरिएको छ ।
खासगरी उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पुर्याएर वितरण गर्न थालिएको हो ।
‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको हो ।
नगर प्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौं ।’
नगरपालिकाले आगामी पाँच वर्षमा घर–घरमा खानेपानीको धारा पुर्याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए । बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, ‘विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।’
स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए । ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ। तर, लुगा धुन, नुहाउन, गाई भैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकासे पानीको प्रतीक्षा गरिरहेका छौं।’
खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।
खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगवीर यादव भन्छन्, ‘छ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।’ पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ ।