सिन्धुली घटना : उर्मिला हायूकी माइली छोरी सुजाता सम्पर्कमा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पानजिक भण्डास विप्पर कटेरीको हायू परिवारकी एक सदस्य प्रहरीको सम्पर्कमा आएकी छिन् । ५२ वर्षीया उर्मिला हायूकी माइली छोरी सुजाता हायू प्रहरीको सम्पर्कमा आएकी हुन्।
यसअघि हराएको सूचीमा रहेकी माइली छोरी सुजाता र ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार सुजाता र आयुष केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए ।
‘छोरी र ज्वाइँले आफूहरू केही महिनादेखि काडमाडौंमा बस्दै आएको भनेका छन्,’ डीएसपी सुवेदीले भने, ‘सुजाताले पनि परिवारसँग सम्पर्क हुन नसकेको बताएकी छिन् ।’ उनीहरूले परिवारका सदस्य खोजिदिन प्रहरीसँग आग्रह गरेका छन् ।
उर्मिलासहित परिवारका १५ जना चार दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही भेटिनन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हराएकाहरूमा उर्मिलासहित उनका ६ छोरा, ५ छोरी, १ बुहारी, १ नाति र १ जना ज्वाइँ रहेका छन् । उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि निधन भएको थियो । उनको शव समेत जंगलमा कंकाल मात्र भेटिएको थियो ।
स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार आफ्नै घरको सुँगुर काटेर पारिवारिक भोजन गरेका थिए । १५ मिनेटको दूरीमा रहेका छिमेकीले पनि गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै खोजविन गरेका थिए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायू परिवारको भान्साघर जलेको अवस्थामा भने भाँडाकुँडा अस्तव्यस्त छन् । खोरमा पाँच वटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’
सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा राखिएको फोन नम्बरमा सम्पर्क गरे पनि सबै वन्द अवस्थामा छ । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले सम्पर्कविहीन हायू परिवारको मोबाइल लोकेसनका आधारमा रामेछाप मन्थलीतिर खोजी भइरहेको बताए ।
परिवारै रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीहरूको भनाइ छ । घरपारि रहेको गोठमा पाडीलाई घाँस र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए । त्यसपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका हुन् ।
यी हुन् बेपत्ता भएकाहरू
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमलमाया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की शान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लालबहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेगबहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओमकुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी)