प्रहरीमा बढ्दो असन्तुष्टि : २,३६९ ले दिए राजीनामा

काठमाडौं । एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो ।
यस्तै गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५१० मुद्दा दर्ता भएका हुन् ।
अपहरणका १४२, मानव बेचबिखनका १५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ छन् ।
प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी गराए । गत आर्थिक वर्ष आत्महत्या गर्नेको संख्या मात्रै ६ हजार ८ सय ५२ रहेको छ । साइबर अपाधका मुद्दा ११२ मुद्दा दर्ता भएको छ । यस वर्ष रेड नोटिस जारी भएका ३४ जना र विभिन्न देशबाट पक्राउ गरी ल्याइएका २० जना रहका छन् ।