नाउपा कार्यवाहक अध्यक्षमा बाँस्तोला, जिम्मेवारीबाट अलगिइन् रञ्जिता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई दिएकी छिन् । उनले आज पार्टीको कामबाट अलग हुँदै बास्तोलालाई कार्यवाहक दिएकी हुन् । पोखराको जग्गा हडप्ने प्रपञ्चमा श्रेष्ठ पनि जोडिएको खुलेसँगै पार्टीभित्रैबाट पनि उनीमाथि दबाव बढिरहेको छ ।
पार्टीका संरक्षक समेत रहेका श्रेष्ठका श्रीमान रेशम चौधरीले यसमा जवाफ दिन चुनौति दिएका थिए । यस्तै बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए ।
२४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् । कार्यवाहक दिनुमा भने उनले स्वास्थ्यको कारण देखाएकी छिन् । ‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन् ।