विधेयक फिर्तापछि राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । भेट राष्ट्रपति निवास शीतलनिवासमा भएको हो । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ । संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेकोप्रति सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।
राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । लगक्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर त्यसप्रति चासो व्यक्त गरेको स्रोतले जानकारी दिएको छ ।