मुलुक चरम ऋणमा डुबेको छ, मन्त्रीहरु भ्रष्टाचारमा तल्लीन छन् : सांसद बजगाई
‘रास्वपाको हस्ताक्षर अभियान गैरकानूनी र अदालतको अवहेलना’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन् । सरकारका मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिनमा रहेको भन्दै उनले सांसद र नेताहरु अनुहार छोपेर हिँड्न बाध्य भएको बताए ।
‘अनुहार छोपेर हिँड्न बाध्य छौं, धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन छन्, यो मैले पहिले नै देखाएको थिएँ’, उनले भने । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले शान्ति प्रक्रियायता मुलुकको ऋणभार ९७ अर्ब पुगेको बताए ।
उनले भने, ‘२०६२/२०६३ पछि प्रदेशहरु विकासको इन्जिन हुनुभन्दा बोझ हुन थालेको छ, मुलुकको सार्वजनिक ऋण कूल २.६११ ट्रिलियन पुगेको छ, उनले जुन जीडीपीको ४७.७७ प्रतिशत हो, यसमा ९७ अर्ब नयाँ ऋण थपियो।’ श्रम पलायन तीब्र भएको बताउँदै उनले मुलुकको अवस्थाले युवा शक्ति विदेश जान बाध्य भइरहेको बताए । ‘जब हामी गर्छौं, सक्छौं भन्दै अगाडि बढ्ने प्रयास गर्छौं, धेरै यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देख्छौं, बोल्नेको गला अवरुद्ध छन्’, उनले भने । आजको राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेण्डामा सहकार्यको स्पष्ट अभाव देखिएको उनको भनाइ छ ।
नयाँ दलहरुप्रति उनले इजिप्टमा प्रचलित उक्ति स्मरण गर्दै कटाक्ष गरेका छन् । उनले भने, ‘इजिप्टमा एउटा भनाइ छ, जब कुनै नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यसमा सबभन्दा नयाँ हुनेको भनेको त्यसको लोगो मात्रै हो ।’ सांसद बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको हस्ताक्षर अभियान गैरकानूनी भएको टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद बजगाईंले रास्वपाले गरिरहेको हस्ताक्षर अभियानले अदालतको अवहेलना भएको बताएका हुन् ।
‘सहकारी ठगीको आरोपमा अदालतको आदेशले पुर्पक्षमा रहेका तपाईंका नेता मुक्त नहुँदै पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानूनी र अदालतको अवहेलना हो,’ बजगाईंले भने, ‘रास्वपाका सभापति आपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँको नेतृत्व कायमै छ । सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत कुरा वेवास्ता गर्नु दुःखद छ ।’ पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ ।