करेन्ट लागेर ट्रकको सहचालकको मृत्यु, दुई मजदुर गम्भीर

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।
११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।