बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कीर्ते मुद्दामा पक्राउ परेका छन् । सोमबार उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । कीर्ते र जालसाजी अभियोगमा साहलाई पक्राउ गरेको धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए । उनका अनुसार प्रहरीले उनीमाथि जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका साहले परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको कीर्ते हस्ताक्षर गरी चार कर्मचारी बर्खास्त गरेका थिए । पासवानले अध्यक्ष साहविरुद्ध गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । विधि विज्ञान प्रयोगशालाबाट उक्त हस्ताक्षरसम्बन्धी परीक्षण प्रतिवेदन आएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले जिल्ला अदालत धनुषाबाट वैशाख २५ गते पक्राउ गर्न अनुमति लिएको थियो । त्यसयता साह फरार रहेका थिए। साहले हस्ताक्षर कीर्ते गरी प्रशासकिय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्रि गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए । नेकपा एकीकृत समाजवादीको सिफासिमा बृहत्तर जनकपुरका अध्यक्ष नियुक्त भएका थिए । मुद्दाबाट जोगिनकै लागि समाजवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए ।