मान्छे फेरेर भए पनि सरकार प्रभावकारी बनाउँछौं : गगन थापा
‘भ्रष्टाचारी कांग्रेस हुँदैन, जो भए पनि जोगिन हुँदैन’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई प्रभावकारी बनाउन लागिरहेको भन्दै नसके मान्छे फेरेरै भए पनि प्रभावकारी बनाएर जाने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले अहिले सहमतिअनुसार सरकार अगाडि बढाउने प्रयास गरिरहेको बताएका छन् । महामन्त्री थापाले भ्रष्टाचारीको जात, धर्म पार्टी केही पनि नहुने बताएका छन् । महामन्त्री थापाले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने भन्दै उसले कुनै पार्टीको हुँदैमा उन्मुक्ति पाउनु नहुने बताए ।
‘कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही छुट्नु हुँदैन भन्नु पर्यो’, महामन्त्री थापाले भने, ‘दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन । बैठकमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर २५ लाख धरौटीमा छुटेका मोहनबहादुर बस्नेतले आफूलाई फसाउन गगन थापाको भूमिका रहेको बताएका थिए । यस्तै, पूर्व उपसभापति गोपालमान श्रेष्ठले आइतबारको बैठकमा एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाए पनि कांग्रेसले जोगाउन नसकेको बताएका थिए । थापाले सबैका प्रश्नलाई एकमुष्ट जवाफ दिएका हुन् ।
‘कांग्रेसको १५ औं महाधिवेशनको प्रस्ताव अर्को बैठकमा ल्याउँछौं’
महामन्त्री थापाले ०८४ को चुनाव अगाडिनै कांग्रेसको महाधिवेशन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । कांग्रेसको महाधिवशन आम निर्वाचनपछाडि कि अगाडि भन्ने बहस चलिरहेका बेला महामन्त्री थापाले सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै अब बस्ने केन्द्रीय कार्यसमितिले महाधिवेशनको क्यालेन्डर ल्याउने बताएका हुन् । उनले १५ औं महाधिवेशन नयाँ उर्जाका साथ गरिने बताए ।
‘हामी यो बीचमा अरू कार्यक्रमहरू गर्छौं । भातृ संस्थाको अधिवेशन गर्छौं । शुभेच्छुक संस्थालाई सम्हाल्छौं । पार्टीको सबै साथीहरूलाई जिम्मेवारी पनि दिन्छौं । यो बीचमा नयाँ अभियानहरू पनि गर्छौं । पार्टीका साथीहरू सबैलाई मिलाएर पार्टीलाई थप प्रभावकारी बनाउँछौं,’ थापाले भने, ‘सरकारलाई पनि थप प्रभावकारी बनाउँछौं ।’
उनले महाधिवेशनसम्म महामन्त्रीको हिसावले आफू जिम्मेवारी सम्हाल्ने र त्यसपछि के हुने भन्नेबारेमा १५ औं महाधिवेशनलाई जिम्मा दिने बताए । ‘पन्ध्रौं महाधिवेशनसम्म के हुन्छ ? कसरी जान्छ ? म कुनै बेला नेपाल विद्यार्थीको अध्यक्ष भनेर हिँडेको मान्छे, मलाई प्रदीप पौडेलले फकाए र म नेविसंघको अध्यक्ष छोडेर क्षेत्रको सभापति बसें ।त्यसपछि महामन्त्रीको चुनाव लडें । अब यो अधिवेशनमा के हुन्छु भन्ने कुरा पछिको कुरा भयो, यसलाई पन्ध्रौं महाधिवेशनसम्म छाडिदिने हो,’ थापाले भने, ‘अहिले खाली के सोच्ने हो भने पन्ध्रौं महाधिवेशनसम्मको हामी जिम्मेवारीमा छौं, यो जिम्मेवारी पूरा गर्दछौं, यो जिम्मेवारीको कुरा गर्दै गर्दा सबैको साथ सहयोग चाहिएको छ । कतै केही कमजोरी भएका छन् भने म क्षमा चाहन्छु ।’