शशांक कोइरालाको प्रस्ताव : संविधानबाट धर्म निरपेक्षता हटाऔं

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानमा भएको धर्म निरपेक्षता भन्ने संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता कायम गरेर जानुपर्ने बताएका छन्। कोइरालाले पहिलेदेखि नै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउँदै आएका छन्।
उनले संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रताको व्यवस्था राख्नुपर्ने धारणा जारी केन्द्रीय समितिको बैठकमा पनि राखेका हुन्। ‘यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो । पहिलो संशोधन यही होस्–धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौं ।’ उनले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ‘राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्,’ उनले भने।