मिनेन्द्र रिजालको प्रस्ताव : दुई चरणमा पार्टी विधान संशोधन गरौं


२१:३० बजे
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौं ।  महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ डा. रिजालले भने । 

आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताएका छन् । ‘महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई । त्यो बाटो नगर्ने हो भने हामीले पार्टीमा झगडा गर्दा–गर्दा पार्टीलाई आउने निर्वाचनमा नाश गर्छौँ,’ रिजालले भने । सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनु पर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ । 

‘निर्वाचित सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडि मात्र कार्यकाल सुरु गर्ने र त्यो बेलासम्म विधान संशोधनको प्रस्ताव तयार गर्ने काम गर्नुपर्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जतिवटा निर्वाचन गराउन खोजेको हो, जुन–जुन तहमा राख्न खोजेको हो, त्यो तहको काम गर्ने गरी विधानमा व्यवस्था गरौँ,’ रिजालले भने । आम निर्वाचन पछि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य तथा प्रदेश समिति र मातहतका समितिको निर्वाचन गर्नुपर्ने प्रस्ताव रिजालको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७