‘बैंकर र व्यवसायी छुट्याउन समय नतोके अर्थतन्त्र अप्ठेरोमा पर्छ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बैंकर र व्यवसायी छुट्याउनका लागि समय तोक्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभाको अर्थ समितिको आइतबारको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बैंकर र व्यवसायी छुट्याउनका लागि समय नतोकिए अर्थमन्त्रमा अप्ठेरो पर्न सक्ने बताए।
‘जापान, बेलायतको अवस्था हेर्दा पनि एकै व्यक्ति बैंकर र व्यवसायी छ । हामीकहाँ बैंकर र व्यवसायी छुट्याउने नै हो भने पनि ग्रेसफूल एक्जिट दिनुपर्छ । समय दिनुपर्छ । बैंकर्सलाई व्यवसाय गर्न तिमीहरू पाउँदैनौं भने पनि ठिक छ । तर, यति लामो अवधिदेखिको चलिरहेको बैंकिङ र अर्थतन्त्र अप्ठेरोमा जान सक्छ । २ प्रतिशतबाट १ प्रतिशतमा झार्न ५÷१० वर्ष दिने हो कि ? त्यो नगरे अर्थतन्त्र नै जोखिममा जान्छ,’ उनले भने । विधेयकमाथि २८ सांसदले सवा सय संशोधन हालेका छन् । समितिले संशोधन प्रस्तावमाथि शुक्रबारदेखि छलफल गराइरहेको छ । शुक्रबारको बैठकमा संशोधनकर्ता दुई सांसद उपस्थित भएकामा आइतबारको बैठकमा केसी मात्र हाजिर भएका हुन् । सांसद केसीले बैंकमा लगानी गरेकाहरुले कुनै पनि वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्न नहुने बताए ।
‘आफ्नो लगानी भएको बैंकबाट ऋण लिन नपाइने व्यवस्था अहिले पनि छ । यसलाई बरू थप कडाइ गरौं। तर, कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउँदैन भन्दा समस्या आउँछ । ऋण लिने ढोका नै बन्द गर्नु हुँदैन,’ उनले भने, ‘हामीले गर्ने निर्णयबाट अर्थतन्त्र समस्यामा पर्नु हुँदैन । लोकतन्त्र र अर्थतन्त्र सँगै जानुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउन विधेयकमा गरिएको प्रस्ताव स्वागतयोग्य भएको बताइन् ।