‘हिमाल पृथ्वीको हृदय हो, यसको संरक्षण मानव अस्तित्वको रक्षा’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल पृथ्वीको हृदयका साथै मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।आज यहाँ आयोजित ‘हिमालयन क्लाइमेट चार्टर’ सम्मेलनमा उनले हिमालको संरक्षण गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु भएकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सबै एकजुट भएर हिमालय संरक्षण अभियानमा लाग्नुपर्ने धारणा राखे ।
हिमालय क्षेत्रलाई नेपालको मात्र नभई सम्पूर्ण पृथ्वीको साझा धरोहर र जलवायु सन्तुलन कायम गर्ने प्रणालीका रूपमा वर्णन गर्नुपर्ने मन्त्री पाण्डेले बताए । ‘हिमाल पृथ्वीको हृदय हो । यसको रक्षा गर्नु केवल कर्तव्य होइन, मानव अस्तित्वको संरक्षण पनि हो’, उनले भने ।
उनले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल फुट्नु, बाढी र पहिरोको जोखिम बढ्दै जानुलगायत घटनाले नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन उद्योग र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको बताए ।
मन्त्री पाण्डेले हिमाल जोगाउनु कुनै क्षेत्रीय एजेण्डा नभई हाम्रो पृथ्वी र भावी सन्ततिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय रहेको बताउँदै सरकारले तयार पारेको ‘सफा हिमाल रणनीति–२०८२’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले यो पाँच वर्षे कार्ययोजनाले फोहर व्यवस्थापन, वातावरण संरक्षण, पुनःस्थापना, उत्तरदायी पर्यटन र युवामार्फत नेतृत्व हस्तान्तरणलाई लक्षित गरेको बताए ।
मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई पर्वतीय राष्ट्रमा जलवायु संकटको समाधानमा लगानी गर्न आह्वान गरे । साथै, पर्यटन क्षेत्रका साझेदारलाई उत्तरदायी पर्यटन प्रवद्र्धनतर्फ उन्मुख हुन उनले प्रेरित गरे । ‘बिवाइएन ब्लयाक्याक’ गु्रपले नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा गरेको सम्मेलनले हिमालय क्षेत्रको वातावरणीय भविष्यप्रति विश्वव्यापी ध्यानाकर्षणसहित ऐक्यबद्धताको आह्वान गरेको छ ।
यी संस्थाले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कटप्रति चिन्ता सार्वजनिक गर्दै संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
घोषणापत्रले कार्बन उत्सर्जन घटाउने जस्ता विश्वव्यापी प्रयास मात्र होइन, हिमालयसँग पुस्तौंदेखि सहअस्तित्वमा रहेका समुदायको स्थानीय ज्ञानलाई महत्व दिएको छ । ब्ल्याक्याक ग्रुपका सिइओ काङ ते सूनले भने, ‘हिमालयबाट आएको यो मौन चेतावनीले देखाउँछ कि उच्चतम स्थानमा सुरु भएको परिवर्तन शीघ्र सबैभन्दा तल पुग्नेछ । जलवायु संकट अब सम्पूर्ण मानव जातिको साझा मुद्दा हो । यो घोषणापत्र केवल वाचा होइन, जलवायु न्यायका लागि एकजुट आह्वान हो ।’ उनले यो सन्देश विश्वभर फैलिने र सार्थक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।