सशस्त्रमा प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २,१९६ जनाको बढुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले एक महिनाको बीचमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म २,१९६ जनाको बढुवा गरेको छ । बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ छन् । त्यस्तै सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी वरिष्ठ हवलदार, हवलदार र सहायक हवलदार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो । बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने सशस्त्र प्रहरीले जनाएको छ ।