‘संसदलाई सत्ताको जोड–घटाउ होइन, जनताको आवाज बुलन्द गर्ने थलो बनाउनु पर्छ’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
संसद दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हाम्रो साझा उद्देश्य संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।’
संसद् दिवस मनाइरहँदा संसद्ले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘संसद्लाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान जरूरी छ ।’ उनले संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रुपमा विकास गर्न संसद् दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले संसद् दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक जनसंघर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘संघर्षका दौरान बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु, लोकतन्त्र प्राप्तिको यस लडाइमा सहभागी नागरिक समाज, राजनीतिक व्यक्तित्व तथा आम नागरिकहरूको योगदानको उच्च कदर गर्दछु ।’
नेपालमा पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको विसं २०१६ असार १६ गतेको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ । नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसद्ीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकार लगायत सबैलाई प्रेरणा दिनेछ भन्ने अध्यक्ष दाहालको विश्वास छ ।
सन्देशमा भनिएको छ, ‘संसद् जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो, संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहन्छ, संसद्ले कानुन बनाउँछ, बजेट स्वीकृत गर्छ, सरकारको गतिविधिमा निगरानी गर्छ र आम नागरिकका अधिकार सुनिश्चित गर्ने कानूनी व्यवस्था गर्दछ ।’
‘संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छ’
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । ६७औं संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
उपाध्यक्ष घिमिरेले मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याएकी छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।’
सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गर्दै उनले भनेकी छन्, ‘जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ, जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।’ संसद दिवसले संघीय संसदका सदस्य, संविधानसभा सदस्य, पूर्व सांसद, संसद सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा लोकतन्त्रको सार सम्झाउने र सुधारको बाटो देखाउने अवसर बन्न सकोस भनि कामना पनि व्यक्त गरेकी छन् ।
विसं २०१६ साल असार १६ गते नेपालमा संसदकाे पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ । संसद् नागरिकको आवाज, आकांक्षा, विचार र आवश्यकता बोकेको संस्था हो । नेपालले लामो संघर्षपछि लोकतन्त्र र संघीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायको रूपमा स्थापित गरेको छ । संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको उपाध्यक्ष घिमिरेको भनाइ छ ।