पार्टीमा विचलन देखियो, सबै पदको लागि तँछाडमछाड गर्दैछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी रूपान्तरणको अभियानमा रहेको बताएका छन् । पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको आज भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी फेरि अभियानमार्फत आफ्नै वर्गतिर फर्किएको बताएका हुन् ।
प्रचण्डले भने, ‘आजभोलि पार्टी र आन्दोलनमा धेरै नै सैद्धान्तिक, राजनीतिक, व्यावहारिक र सांस्कृतिक विचलनहरू देखिन्छन् । हामीले कम्युनिष्ट पार्टी स्थापना भएर अगाडि जाँदै गर्दा जुन आदर्श र समर्पण भावको साथ, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । जनयुद्धको बेला होस् वा जनआन्दोलनको बेला । आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति तँछाडमछाड गरेको देखिन्छ ।’ उनले पार्टीको केन्द्रीय समितिको बैठकमा विचार, राजनीतिक मुद्दा, वर्गप्रतिको सम्बन्ध कमजोर भएको भन्दै गम्भीर समीक्षा गरेको बताएका छन् ।