एमाले टुक्रयाउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली


२०८२ असार १४ शनिबार २३:५४ बजे

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए ।

अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।’ उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे । प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पुर्‍याएको योगदान र गरेको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए । ‘जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक संकट पैदा भएको थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो’, उनले भने, ‘तत्कालनि परिस्थिति कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढ्नुभएको थियो ।’ आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएको समेत उल्लेख गरे ।

मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज) को विचार निर्माण गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले  आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको बताए । आफूहरुले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि यसका सम्पूर्ण आधार भने चौथो महाधिवेशमै बनाएको उल्लेख गरे । ‘एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई वटा असाधारण योगदान पुर्‍याएको थियो, ती जबजको बाटो आत्मसात् र मदन भण्डारीलाई महासचिव बनाउने निर्णय थिएँ’, उनले भने ।

प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालेको समेत उल्लेख गरे । ‘चौथो महाधिवेशनले लिएको नीतिले वाममोर्चा निर्माण भयो, नेपाली कांग्रेससँग सहकार्यको नीति अगाडि सघन वार्ता भयो, फलस्वरुप संयुक्त आन्दोलन भई छ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरंकुश राजतन्त्र संवैधानिक भयो’, उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू आज स्पेनको औपचारिक भ्रमणमा जान लागेको उल्लेख गर्दै त्यहाँबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने बताए । ‘कर्णालीमा पुल बनेको छ, म स्पेनबाट फर्किएपछि पुल उद्घाटन हुन्छ, त्यसपछि हुम्लाको सदरमुकाम मोटर चढेर जान सकिन्छ, अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहँदैनन्, यो पनि जबजको सफलता हो’, उनले भने । उनले महाकाली सन्धी पक्षमा अहिले पनि एमाले रहेको उल्लेख गर्दै सम्झौता कार्यान्वयन गरिने बताए । ‘यो सम्झौता कार्यान्वयन गर्नुपर्नेछ, सोही सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ, अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७