एसईई अब प्रदेशबाट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेस्तरबाटै सञ्चालन गरिने भएको छ । आज (शनिबार) सिंहदरबमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति भएको हो । संसदीय उपसमितिले भने विद्यालय शिक्षा विधेयकमा एसईई नराख्ने गरी प्रतिवेदन बुझाएको थियो ।
सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव अघि सारेका थिए । संविधानको भावनाअनुरूप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने उनले प्रस्ताव गरे । उनले विद्यालय शिक्षाको गुणस्तर उकास्नका निम्ति पनि एसईई प्रदेशस्तरबाट सञ्चालन गरिनुपर्नेमा जोड दिए । उक्त विधेयक संसद्बाट पारित भएपछि एसईई राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन गरिने व्यवस्था लागु गर्ने विषयमा सहमति भएको हो । जिल्लामा शिक्षा समन्वय इकाइ राख्ने पनि सहमति गरिएको छ ।
संविधानको मर्मविपरीत नजाने गरी जिल्लामा शिक्षा समन्वय इकाइ राख्ने समिति सभापति अम्मरबहदुर थापाले गरेको प्रस्तावमा सांसदहरूले टेबल बजाएर सहमति जनाए । विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गरिएपछि संसद्मा पठाइनेछ । संसद्बाट पारित भएपछि सहमतिका व्यवस्था कार्यान्वयनमा जानेछ । विधेयकलाई अन्तिम रूप दिने गरी समितिको अर्को बैठक आइतबार (असार १५) का निम्ति बोलाइएको छ ।