राजनीतिबाट रिटायर्ड हुन लागें, पार्टीलाई एक बनाएर जान्छु : सभापति देउवा
2025-06-27-15-17-44.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन् । कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् ।
उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ’ देउवाले भने, ‘म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’ सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे ।
‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ’ उनले भने, ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।’ श्याम कृष्ण प्रधान र उनकी पत्नी गौरीदेवी प्रधान बीपी कोइरालाको विश्वासको पात्र थिए । बीपीले उनीहरूको घरमा बसेर रणनीति तयार गर्थे । बीपीसँग आफू थुप्रै पटक पुगेको स्मरण गर्दै देउवाले प्रधान परिवारको योगदानको चर्चा गरे ।२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइमा होमिएकी गौरीदेवीको गत शनिबार निधन भएको हो ।