चितवन दुर्घटना : गर्भवतीसहित सात जनाको मृत्यु, अधिकांश इभी गाडीका

काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवतीसहित सात जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ। मकवानपुर हटिया–३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको सनाखत भएको प्रहरीले जनाएको छ। अन्दाजी ३०÷३५ की एक गर्भवती महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन (इभी) एक आपसमा ठोक्किएका हुन्। घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ज्यान गुमाउनेहरु अधिकांश इभी गाडीको रहेका छन्।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। घाइते हुनेमा मकवानपुर हेटौंडा १३ बस्ने १६ वर्षीय को सक्षम थापा, मकवानपुर हेटौंडा १२ बस्ने ३२ वर्षीय सिंहबिर घलान, ३१ वर्षीय बिष्णु लम्साल, ३४ वर्षीय गंगा घलान, जिल्ला झापा गौरादह नपा ९ बस्ने ६५ वर्षीय सुशीला बराल ६७ वर्षीय उमा बराल, कञ्चनपुर बेलौरी न।पा।४ बस्ने ४८ वर्षीय को वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट न।पा। ९ बस्ने ३० वर्षीय सन्देश ओली रहेका छन्।