धर्मनिरपेक्षता र गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्र ब्यबस्था अझै लामो समय रहिरहे देश टाट पल्टिने दाबी गरेका छन्। आज (शनिबार) निकट मजदुरहरुको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै बर्तौलाले उनले यो ब्यबस्था भ्रष्टाचारीहरुको संरक्षक भएको बताए।
‘हामी आन्दोलनको आन्तरिक तयारीमा जुट्नु छ, अनि एकै पटक मुलुकलाई जुरुक्क उठाउनु छ,’ बर्तौलाले भने, ‘यो अहिलेको प्रधान बिषय हो। कुशासन, मनपरितन्त्र, धर्मपरिवर्तन, बेरोजगारी, महंगी सबै कुरालाई टुलुटुलु हेरेर बस्ने होइन, अब बिद्रोहको तयारी गर्ने हो।’ कार्यक्रममा टुकोनका अध्यक्ष एवं राप्रपा नेपालका सहमहामन्त्री हिक्मतजंग भण्डारीले अबको आन्दोलनमा श्रमजीवि बर्गले अग्रभागमा रहेर नेतृत्व लिनुपर्नेमा जोड दिए।