रास्वपाको विरोध र राप्रपाको बहिष्कारबीच संसदमा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बैठकको कारवाही अघि बढ्ने वित्तिकै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूका सांसद सिटबाट उठेर विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले बोल्ने समय दिएपश्चात पश्चात बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएकाले छानबिनको माग गरेको बताइन्। उनले बोल्ने क्रममा भिजिट भिसाको नाममा लाखौं लाखौं युवा ठगिएको विषयमा आन्दोलित हुँदै गर्दा सरकारले वेवास्ता गरेको आरोप धारणा राखिन्।
त्यसपश्चात राप्रपाकी सांसद रोशन कार्कीलाई बोल्न सभामुखले समय दिए। उनले बोलेपछि सभामुखले विभिन्न १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाएका हुन्। अहिले भने रास्वपाका सांसदले वेल घेराउ गरेका छन्। अहिले रास्वपाले संसदमा विरोध जनाइरहेको छ भने राप्रपाले वैठक बहिष्कार गरेको छ।
गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ। आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ।