रवि लामिछानेको सन्देश : अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो
‘देशप्रेमीहरूलाई पन्छ्याइँदैछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गर्दा सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाएको छ। सहकारीको बचत रकम ठगी अभियोगमा पूर्पक्षका लागि कारागार चलान भए पनि अहिले निर्वाचन आयोगको अभिलेखमा सभापति लामिछाने नै रहेका छन्।
कागागारबाट लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँमा नभएको उनको भनाई छ। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइसकेको आरोप लगाएका छन्। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूविरुद्ध सञ्चालित आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भनेका छन्।
उनले स्पष्ट रूपमा लेखेका छन्, ‘मलाई जनताबाट पाएको समर्थन, साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको छ।’ लामिछानेका अनुसार केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेयता देशका मुख्य मुद्दाहरू उठाउँदै आएको बताएका छन्।
लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन्। उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने प्रयास हो।’ उनले सो अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार छु। अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो।’
‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका ३६ वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालत बाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडिया समेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र।’
उनले भने, ‘घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’ अपिलको अन्त्यमा उनले थपेका छन्, ‘यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो । तर म टुक्रिन तयार छु, झुक्न सक्दिनँ।’
अपिलको पूर्णपाठ