सरकारले पैतृक सम्पत्ति जस्तो गरी बजेट बाँड्यो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले पैतृक सम्पत्ति जस्तो गरी बजेट वितरण गरेको आरोप लगाएका छन्। आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विनियोजित बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले जनताको पसिनाबाट तिरिएको करलाई समान रुपमा विनियोजन नगरिएको भन्दै आपत्ति जनाए।
‘आज सरकारी बजेट निजी जस्तो भएको छ । जनताले तिरेको कर पसिना हो कि नेता ज्यूहरुको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ। जसरी पैतृक सम्पत्तिलाई परिवारको सदस्यहरुले भागबण्डा गर्छन्, त्यसैगरी नेता ज्यूहरुले भागबण्डा गरेर दुरुपयोग गरिरहेका छन्। किन समान वितरण भएन ? अहिले सबै मन्त्रालयको हेर्ने हो भने त्यही हालत छ’, उनले भने। नेता साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भौतिक मन्त्रालयको विनियोजित रकम एक खर्ब ५१ अर्ब रहेको र त्यसलाई १६५ निर्वाचन क्षेत्रमा बाँड्दा ९१ करोडभन्दा एक निर्वाचन क्षेत्रले पाउने बताए। यसरी बजेट पाउने हक ती क्षेत्रका जनतालाई हुने उनको भनाइ छ। ‘मेरो क्षेत्रको त्यो हक होला नि ? सबै क्षेत्रका जनताको त्यो समान हक होला नि ? किन परेन ? के त्यो क्षेत्रमा सडक आवश्यक छैन ?’ प्रश्न गर्दै उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले तिरेको राजश्व फिर्ता गर्न सुझाव दिए। जनताको प्रधानमन्त्री बन्नेहरुले यो हदसम्मको बेइमानी गर्न नहुने उनको भनाइ छ। ‘थोरै पनि लाज लाग्छ भने प्रधानमन्त्री ज्यु रौतहटका जनताको राजश्व फिर्ता गर्नुस्। त्यहाँको जनताको तपाईं प्रधानमन्त्री होइन। त्यहाँको मन्त्री पनि होइन। यदि तपाईं सबैको हो भने बेइमानी किन गर्नु भयो ?’ प्रश्न गर्दै नेता साहले भने।
उनले यातायातमा बृद्ध, बृद्धा र विद्यार्थीहरुलाई काठमाडौंमा मात्रै छुट उपलब्ध गराइएको बताए। काठमाडौं बाहिरका नागरिकहरुले पनि यातायातमा छुटको सुविधा पाउनुपर्ने उनको भनाइ थियो। नेता साहले सरकारी उद्योगहरु घाटामा हुने र निजी उद्योगहरुले चाहिँ कर तिर्नुपर्ने अवस्था रहेको बताए । सरकारी उद्योगहरु सबै घाटामा जाँदा निजी उद्योगसँग कर लिनु उचित नहुने उनको भनाइ छ। ‘म दुई तिहाइको सरकारलाई सोध्न चाहन्छु–तपाईहरुले खोलेको सरकारी उद्योग घाटामा छ। तपाईंहरुले चलाएको ट्रेन घाटामा छ, तपाईंहरुले उडाएको प्लेन घाटामा छ। सरकारले घाटा गरिराख्न निजी कारोबार गर्ने व्यवसायीसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? यदि सरकारको उद्योगमा घाटा छ भने व्यक्तिको उद्योगसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? सरकारी हवाई क्षेत्रमा घाटा गरिराख्दा निजी एयरलाइन्ससँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ?’ नेता साहले भने।