तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नायब सुब्बा साह पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ। विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो।
अनुसन्धानका सिलसिलामा आयोगको टंगालबाट खटिएको टोलीले पोखरिया नगरपालिका, पर्सा (हाल बहुदरमाई नगरपालिका, पर्सा)का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई शुक्रबार नियन्त्रणमा लिएको हो। वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र वडा नम्बर ३ प्रगतिनगरबाट पक्राउ परेका उनीहरूको साथबाट आयोगको टोलीले ४ थान मोबाइल पनि बरामद गरेको छ। यस्तै पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नम्बर २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट २ थान मोबाइल बरामद भएको छ। थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।