निर्वाचन आयोगको अभिलेखमा मुकुल ढकाल नै रास्वपाको महामन्त्री
‘निर्वाचन आयोगले नै जवाफ दिनुपर्छ’

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा डा. मुकुल ढकाल नै रहेको उल्लेख छ। आयोगले ढकालले माग गरेअनुसारको विवरण उपलब्ध गराउँदै उनी नै महामन्त्री रहेको जनाएको हो।
ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेका थिए।त्यस्तै आयोगले २०८० चैत २० गते रास्वपाले पछिल्लो पटक अध्यावधिक विवरण पठाएको र अभिलेखमा सोही नै कायम रहेको पनि उल्लेख छ। निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन्।
२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो।त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए । त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए।
त्यही दिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा. मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो।’ ढकाललाई रास्वपाले गत वर्षको भदौ ११ गते बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो।
पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। पार्टीले निलम्बनमा राखेपछि उनले आयोगलाई पत्र लेखेर कुनै पनि पत्र अध्यावधिक नगर्न भनेका थिए । पार्टीले पदमुक्तको निर्णय गरिसके पनि ढकालले आफूलाई पदमुक्तको जानकारी नभएको भन्दै लेखेको पत्र ०८१ साउन १३ गते आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका थिए।
‘राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका थिए।
‘निर्वाचन आयोगले नै जवाफ दिनुपर्छ’
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा. मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताएको छ। आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो । यसबारे रास्वपाले खण्डन गर्दै आयोगसँग जवाफ माग गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय समितिको २०८१ असार २५ गतेको निर्णयअनुसार पार्टी फेरबदल भएको र अभिलेख अध्यावधिक गर्न आयोगलाई सोही वर्षको साउन १७ गते निवेदन पेस गरेको दाबी गरेका छन्।
‘निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो,’ झाले भने, ‘पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ।’