यातायात कार्यालयका अधिकृत गौतमविरुद्ध अकुत गैरकानुनी सम्पत्तिको मुद्दा

काठमाडौं । स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पर्साका यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। दुई करोड ५२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत (आठौं तह) गौतमले पदमा रहँदा मर्यादाविपरित कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । गौतम सार्वजनिक पद धारण गरेको मिति ७ वैशाख ०५५ देखि २४ चैत ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको छ।
पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घररजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण-सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, विमा परिपक्क-समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी जाँच अवधिमा गौतमको दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँ आयआर्जनको स्रोत खुलेको छ। जाँच अवधिमा नै एकासगोल घर परिवारको नाममा घर निर्माण, घर÷जग्गा खरिद, घररजग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष-बैंक-जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी गौतमको कुल खर्च तथा लगानी भने पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ देखिएको छ -।
समग्र आयबाट खर्च तथा लगानी घटाउँदा आउने दुई करोड ५१ लाख एकाउन्न लाख ७८ हजार ६८७ रुपैयाँको गौतमले स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले गौतमविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, राष्ट्रसेवक पदमा बहाली भएपश्चात वार्षिक रुपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाईछिपाई झुठ्ठा विवरण पेस गरेको आरोपमा थप सजायको मागदावी पनि अख्तियारले गौतमउपर गरेको छ। सार्वजनिक सेवामा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी सरला नेपालका नाममा राखेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।