संसद वैठकअघि सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन्। आज (मंगलबार) दिउँसो सिंहदरबारमा भएको छलफलमा दुई बुँदे सहमति कार्यान्वयन, रास्वपाको मागलगायत विषयमा कुराकानी भएको छ। रावस्पाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदनमा विरोध जनाउँदै आएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएकाले उनले राजीनामा दिनुपर्ने रास्वपाको माग छ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबीच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ। गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तापक्षबीच सदन सञ्चालनको विषयमा सहमति भएको थियो। अधिकारीका अनुसार अहिले सभामुख घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच छलफल जारी छ। भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीकै राजीनामा माग्दै सदनमा अवरोध गरिरहेको छ। सभामुखले सदन सञ्चालनको वातावरण बनाउन भन्दै परियारसँग छलफल गरेका हुन् ।
सहमतिका दुई बुँदा
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने।