परराष्ट्रमन्त्रीलाई इजरायली राजदूतले भने–सबै नेपालीहरू सुरक्षित छन्

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्। आज (सोमबार) परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।
त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेका थिइन्। त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए। आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो।
पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएका थिए। मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो।