अवरोध जारी राख्ने रास्वपाको अडान, सभामुखले भने–अब संसद रोकिंदैन

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् । आज (सोमबार) सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई सातादेखि विपक्षीको अवरोधले सदन बन्धक भएको बताए। बजेटबारे व्यापाक छलफल गर्नुपर्ने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको सभामुख घिमिरेको भनाइ थियो।
‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नु पर्दछ’, उनले भनेका छन्। राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको र सो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने भएकाले आन्दोलनको स्वरुप बदल्न रास्वपालाई अनुरोध गरेका छन् । त्यसका लागि आफूले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्ने बताएका छन्।
यता रास्वपाले भने सदनमा उठाइएका विषय गम्भीर रहेको र सरकार यी मुद्दाहरुमा गम्भीर नरहेको बताएको छ। ‘हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो। अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं,’ रास्वपाले सभामुखलाई जवाफ दिएको छ। रास्वपाले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ।
प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ। त्यसअगाडि रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटेका थिए। सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन्। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ। यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग छ।