अर्थमन्त्रीको अडान : ‘टेक एन्ड पे’ हट्दैन

‘कांग्रेस–एमालेबीच दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भन्ने कोशिस छोडिदिए हुन्छ’


२०८२ असार २ सोमबार २२:५९ बजे

काठमाडौं । सरकारले बजेटमा राखेको ‘टेक एन्ड पे’ को व्यवस्था संशोधन नगर्ने भएको छ। आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने भएकाले ‘टेक एन्ड पे’ को चिन्ता लिनु नपर्ने बताएका हुन्।

‘टेक एन्ड पे’ का विषयमा केही चर्चा भएका छन्, केही सुझाव आएका छन्। केही आलोचना पनि भएका छन्’, उनले भने, ‘निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विधेयक सदनमा विचाराधीन अवस्थामा छ । विधेयक पारितपछि विद्युत् व्यापारको दायरा फराकिलो हुने, प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने हालको अवस्थाको पनि अन्त्य हुनेछ। यसबाट निजी क्षेत्रको लागि थप विस्तार हुनेछ।’

विधेयक पारितपछि प्राधिकरणले माग र आपूर्ति सन्तुलनका लागि निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद गर्ने र बढी उत्पादन भएको विद्युत् निजी क्षेत्रले बिक्री गर्न सक्ने अर्थमन्त्रीको भनाइ छ।प्राधिकरणले माग र खपतको अवस्था हेरेर पीपीए गर्न सक्ने भएका कारण सरकारले ‘टेक एन्ड पे’को अवधारणा ल्याएको पौडेलले बताए । आइतबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले बजेटमा भुलवश ‘टेक एन्ड पे’ परेको र सच्चिने बताएका थिए। 

‘कांग्रेस–एमालेबीच दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भन्ने कोशिस छोडिदिए हुन्छ’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा दूरी सिर्जना गर्ने कोशिस भइरहेको बताएका छन् । सोमबारको संसद् बैठकमा भाग लिएका सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

सत्तासीन दल एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अहिलेको बजेटले आजको यथार्थतामा उभिएर आर्थिक क्रियाकलाप गर्ने आधार दिएको जिकिर गरे। ‘जिब्रोको स्वादका लागि यसमा एमाले देखिएन, यसमा कांग्रेस देखिएन, अहिले बेला–बेलामा कोशिस गर्नुहुन्छ, हरेक हप्ता नयाँ–नयाँ गीत गाउनु हुन्छ, यो सरकार अब ढल्छ भनेर। अनेक प्रकारका कोशिसहरू गर्नुहुन्छ, ती कोशिसहरू कामयावी बन्न सकिरहेका छैनन्,’ उनले भने।

अर्थमन्त्री पौडेलले बजेटका बारेमा टिप्पणी गर्दा पनि त्यही कोशिस भइरहेको बताए । ‘साथीहरूले के कोशिस गर्नु भएको छ भने कांग्रेस र एमालेका बीचमा कहीँ दूरी सिर्जना गर्न सकिन्छ कि भनेर यो चाहिँ कांग्रेसको जस्तो देखिएन, एमालेको जस्तो भयो, अथवा कांग्रेस–एमालेको बीचमा दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भन्ने त्यो व्यर्र्थको कोशिस छोडिदिए हुन्छ। म साथीहरूलाई त्यो आग्रह गर्न चाहन्छु । त्यो ऊर्जा, क्षमता अरु कुनै काममा खर्च गरे हुन्छ,’ उनले भने।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७