भारतीयले बन्द गरे महाकाली नदीको पुल

दार्चुला । भारतीय पक्षले नेपाल–भारत सीमास्थित महाकाली नदीको पुल बन्द गरेको छ । दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने सीमा पुलको बाटो नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेर ६ मिनेटदेखि बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनौपचारिक प्रशासनस्तरमा पुल बन्द गर्न नदिने बताए पनि भारतपट्टि सीमा पुल बन्द छ । अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्नेबारे कुनै प्रकारको लिखित जानकारी पनि आदानप्रदान भएको छैन।
गत जेठ २४ गते शनिबारका दिन दार्चुला सदरमुकाम खलंगापारि धारचुला बजारमा कमलेश दानुको चक्कु प्रहार गरी हत्या गरिएको थियो। हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै दबाब स्वरूप सोमबार धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ। महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ।दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए।
‘नेपालतर्फ हामीले पनि खोजिरहेका छौं तर फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको जानकारी भारतीय अधिकारीहरुले दिएका छन्।’ भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको पौडेलले बताए। भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए। हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार अनुवाल समुदायका अध्यक्ष गुमानसिंह विष्ट नेतृत्वको टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो। साथै उनीहरुले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए।