ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर दुुई हजार बढी ‘नो किङ्ग्स’ र्याली प्रदर्शन

काठमाडौं । अमेरिकामा राष्ट्रपति डनल्ड ट्रम्पको नीतिविरुद्ध देशका विभिन्न शहरमा ‘नो किङ्ग्स र्याली’ प्रदर्शन गरिएको छ। शनिबार अमेरिकाभर २ हजारभन्दा बढी र्याली आयोजना गरिएको सीएनएनले जनाएको छ। विरोध प्रदर्शनहरू केही अपवादबाहेक शान्तिपूर्ण रहेको जनाइएको छ । लस एन्जलस, कलपेपर–भर्जिनिया, लास भेगास, सियाटल, पोर्टल्यान्ड, अस्टिन, न्युयोर्क सिटी, फिलाडेल्फिया, शिकागो, डेकलाब–जोर्जिया लगायतका शहरमा हजारौं मानिसले विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए।
प्रहरीले भेगास शहरबाट १५ प्रदर्शनकारी गिरफ्तार गरेको छ । जनवरीमा सत्ता सम्हालेयता ट्रम्पविरुद्धको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको रोयटर्सले उल्लेख गरेको छ। अवैध आप्रवासन विरोधी निकाय (आइस)को धरपकडका कारण केही दिनदेखि अशान्त रहेको लस एन्जलसमा रात्रिकालीन कफ्र्यु सुरु हुनुअघि केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
देशव्यापी विरोध प्रदर्शन भइरहँदा राष्ट्रपति ट्रम्पले राजधानी वासिङ्टन डीसीमा अमेरिकी सेनाको परेड कार्यक्रमको अध्यक्षता गरेका छन् । सेनाले आफ्नो स्थापनाको २५० औं वार्षिकोत्सवको अवसर पारेर राजधानी वासिङ्टन डीसीमा आफ्नो शक्ति प्रदर्शनसहित भव्य परेड आयोजना गरेको हो। संयोगवश यो दिन राष्ट्रपति ट्रम्पको ७९ औं जन्मदिन पनि रहेको । ट्रम्पले सेनाको परेड कार्यक्रमलाई अविस्मरणीय क्षण भनिरहँदा केही आलोचकहरूले भने ट्रम्पलाई अहंवादी परमाधिपति भन्दै आलोचना गरेको अल जजीराले उल्लेख गरेको छ।