अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा


२०८२ जेठ १४ बुधबार १५:१८ बजे
फाइल फोटो

काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने समाचारमा स्पष्ट छैन । त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई ‘केही दिनभित्र’ दिशानिर्देश प्राप्त हुने भनिएको छ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का भएको अलजजिराले लेखेको छ । गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् ।

मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार ट्रम्प प्रशासनले हार्बर्डसँग बाँकी रहेको संघीय सम्झौता पनि चाँडै तोड्न लागेको छ । यदि त्यो सम्झौता तोडिएमा यो प्रकरणमा हालसम्मकै ठूलो कदम हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिका आउने व्यक्तिहरुले यहाँको कानुन बुझ्नुपर्ने बताइन् । बसाइँ लामो होस् या छोटो आपराधिक उद्देश्य नभएको हुनुपर्ने उनको जोड थियो ।

ब्रुसले विद्यार्थी भिसाका आवेदकहरूले प्राप्तिको सामान्य प्रक्रिया अपनाउनुपर्ने तर बढी जाँच हुन्छ भन्ने बुझ्नुपर्ने पनि बताइन् । ‘यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुस् र जाँचको सामना गर्न तयार हुनुस्,’ उनले भनिन् । उच्च शिक्षासम्बन्धी ट्रम्प प्रशासनका पछिल्ला निर्णयहरूले अमेरिका भित्र अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूका अधिकार र शैक्षिक स्वतन्त्रताको सवालमा संवैधानिक प्रश्नहरू उठाइरहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७