प्रसाईलाई पाँच, मिश्र र राणालाई तीन कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए। उनले आरोपीलाई फरक–फरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो।
आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो। त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो। तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ। राजावादी आन्दोलनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईमाथि कर्तव्यज्यानसहित पाँच कसुरमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा भएको क्षतिमा मुख्य जिम्मेवार ठहर्याउँदै प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनसहित यो राय दिएको हो।
दुर्गाविरुद्ध कर्तव्य ज्यानका साथै ज्यानमार्ने उद्योग, आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले भनेको छ । यस्तै सोही घटनामा अगुवा भूमिका खेलेको निष्कर्षसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध तीन कसुरमा मुद्दा चलायन प्रहरीले राय दिएको छ। प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको मुद्दा, आपराधिक उपद्रव र कर्तव्य ज्यान उद्योगमा मुद्दा चलाउन भनेको छ।